भाजपा नेताहरूलाई दिल्लीमा भेटेर केही दिनअघि काठमाडौं फर्किए, डा. सीके राउत । कुनै वेला स्वतन्त्र मधेश गठबन्धन मार्फत छुट्टै देश माग्ने राउत हिजोआज मूलधारको राजनीतिमा छन् । जनमत पार्टी मार्फत प्रतिनिधिसभामा ६ सिट अनि मधेश र लुम्बिनीका प्रदेश सभा गरी १६ सिट पाएका छन् । तीन तहका सरकारमा सामेल पनि छन् ।

मधेश राजनीतिका सूत्रधार मानिएका उपेन्द्र यादवलाई चुनावमा आफैंले हराए भने उपचुनावमा प्रतिस्पर्धी खडा गरेर चुनौती दिए । तर पनि सत्ता गठबन्धनमा उनैसँगै बस्नुपर्ने बाध्यता सीके राउतलाई किन आइलाग्यो ? अनि सैद्धान्तिक पक्षलाई तिलाञ्जली दिएर व्यावहारिक राजनीतिमा चुर्लुम्म डुब्नुपर्ने बाध्यता के पर्‍यो ?

राष्ट्रिय पार्टी बनेर संसदमा छौं । तीनै तहका सरकारमा छौं । प्रदेशमा पनि मधेश र लुम्बिनीमा छौं । २०७२ को संविधानले नयाँ प्रणाली दिएको छ, जसले संघीयता र गणतन्त्र संस्थागत गर्‍यो । संविधानले दिएको परिवर्तनको सदुपयोग गर्न हामी सरकारमा छौं । पूर्ण रूपमा सन्तुष्ट नभए पनि प्रयोगकै सुरुवाती चरणमा छौं ।

व्यवस्थासँग सन्तुष्ट नभए पनि असन्तुष्ट समेत हुनुपर्ने कुरा नभएकाले यहींबाट परिवर्तनका लागि काम गर्ने ?

एकदम । यो व्यवस्थासँग असन्तुष्ट नै हुनुपर्ने कुनै कारण नभएकाले समानुपातिक समावेशिता, महिलाका अधिकार, गणतन्त्र, संघीयता आदिको प्रयोग कति गर्न सक्छौं भन्ने कुरा हो । कतिपय कुरा अपर्याप्त पनि छन् । संघीयता प्रशासनिक जस्तो मात्रै पनि देखिन्छ । प्रदेशको भूमिका कसरी बढाउने भन्नेमा सरकारले पनि ध्यान दिंदैछ । हामी पनि ध्यान दिंदैछौं ।

प्रतिपक्षमा बस्नु पनि लोकतन्त्रमा ठूलै कुरा हो नि ! तर संसदमा पहिलो, दोस्रो, तेस्रो, चौथो सबैलाई सत्ता गठबन्धनमै बस्नुपर्ने । केही समयअघि एमाले, राप्रपा पनि सरकारमै थिए । तपाईंहरूलाई पनि संसदमा ६ सिट मात्रै भए पनि सत्ता गठबन्धनमै बस्नुपर्ने किन ?

सत्तासँग अनावश्यक वितृष्णा राख्नैपर्छ भन्ने छैन । सरकारमा बसेरै पनि परिवर्तन गर्न सकिन्छ । जनताको सेवा प्रवाह गर्नुपर्ने काम, विधेयक टेबुल गर्नुपर्ने कुरा सत्तापक्षमा बसेर गर्न सकिन्छ । सदुपयोग कसरी गर्ने भन्ने हो । आफ्नो लक्ष्य कसरी हासिल गर्ने भन्ने रणनीति हुन्छ ।

जनमत पार्टीलाई संघ र प्रदेशमा चाहेका मन्त्रालय नपाउँदा, कबुल गरिए जति संख्यामा मन्त्री नपाउँदा र उपेक्षित, अपमानित हुँदा पनि गइराख्नुपर्ने कारण के आइपर्‍यो ?

परिदृश्य बदलिइरहेको हुन्छ । सुरुमा बनेको एमाले सहितको गठबन्धन पछि रहेन । घटक दल बदलिइराखेका वेला सुरुमा भनेका कुरा हमेशा प्राप्त हुँदैनन् । परिवेश नै फरक परेपछि माग पनि फरक पर्नु स्वाभाविक हो । हामीसँग जस्तो संसदीय अभ्यास र प्रणाली छ, संसदमा उठेका आवाज सम्बोधन हुँदैनन्, आवाजहरू विलाएर जान्छन् । प्रतिपक्षमा बसेर यस्तो अवस्थामा भूमिका खेल्ने अवस्था नै थिएन । त्यसैले हामी सत्तामा गयौं ।

सम्बन्धित समाचार

प्रतिक्रिया

No Comments