२३ चैत, नेपालगञ्ज । बाँके जिल्लाको पूर्वी क्षेत्रमा पर्ने राप्ती नदीको किनारा डुडुवा र राप्ती सोनारी गाउँपालिकाका कम्दी र फत्तेपुर क्षेत्रमा बसोबास गर्ने यादव र गद्दी समुदायका किसानहरूको पुर्ख्यौली पेशा भैंसी पालन हो । ती सुमदायका ९० प्रतिशत बढी किसानले भैंसी पालन गर्दै आएका छन् । कम्दी र फत्तेपुर क्षेत्रका गाउँमा भैंसी नपाल्ने किसान परिवार भेट्न मुस्किल पर्छ ।
त्यही कम्दी गाउँका राम सुहावन यादवको पुर्ख्यौली पेशा भैंसी पालन हो । राम सुहावनको गोठमा अहिले १२० वटा भैंसी छन् । तीमध्ये ४० वटा जति दुहुना छन् । २० जनाको परिवार दिन–रात खटेर दैनिक झन्डै ४०० लिटर दूध बिक्री गर्दै आएका छन् ।
२०७३ सालमा विश्व दुग्ध दिवसको अवसरमा तात्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट देशभरमै धेरै दूध उत्पादन गर्ने तेस्रो भैंसी पालक किसानको रूपमा उनी पुरस्कृत भएका थिए । राष्ट्रपतिबाट पुरस्कार पाएपछि उनले व्यवसायलाई अझ व्यवस्थित बनाउने उद्देश्य लिए । अनि गाउँमा २०७४ सालमा यादव भैंसी पालन फार्म खोलेर दूध संकलन र बिक्री गर्न थाले ।
उनले छोरीलाई भेटेरिनरी असिस्टेन्ट पढाइरहेका छन् । गाउँका अन्य करिब १०० किसान परिवार र आफ्नै परिवारको गरेर दैनिक एक हजार देखि १५ सय लिटर दूध संकलन गर्छन् । र, संकलित दूध नेपाल सरकारको पूर्ण स्वामित्व भएको दुग्ध विकास संस्थानको नेपालगञ्ज दुग्ध वितरण आयोजनालाई बिक्री गर्दै आएका छन् ।
संस्थानले गुणस्तर अनुसार यादव भैंसी पालन फार्मबाट लिटरको ८० देखि १०० रुपैयाँमा दूध खरिद गर्छ । संस्थानले यादवको फार्मबाट १५ असोज २०८० पछि खरिद गरेको दूधको भुक्तानी दिएको छैन । संस्थानबाट भुक्तानी पाउनुपर्ने रकम नै करिब १ करोड पुग्न थालेपछि राम सुहावन यादव अहिले तनावमा छन् ।
किसानबाट खरिद गरेको दूध बिक्री नभएपछि संस्थानले दूधलाई चितवन र पोखरा पुर्याएर प्रशोधन गरेर पाउडर र मख्खन बनाउने गरेको छ । त्यही पाउडर र मख्खन पनि बिक्री नभएका कारण किसानलाई दूधको भुक्तानी दिन नसकेको नेपालगञ्ज दुग्ध विकास आयोजनाका प्रमुख कृष्ण अर्याल बताउँछन् ।
संस्थानले दाङ, बाके, बर्दिया र सुर्खेतका कृषि सहकारी र कृषि फार्मबाट दैनिक १० देखि १२ हजार लिटरसम्म दूध खरिद गर्दै आएको छ । खरिद भएको दूधमध्ये १ हजारदेखि २ हजार लिटर मात्रै स्थानीय बजारमा बिक्री हुन्छ । बाँकी दूधलाई पाउडर र मख्खन बनाउने गरिएको छ ।
संस्थानले दूध र दुग्धजन्य पदार्थ बिक्री नहुँदा राम सुहावन जस्तै देशैभरका हजारौं किसान, कृषि सहकारी र कृषि फार्मको करिब १ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
संस्थानले दूध खरिद नगर्दा मिल्क होलिडे भई किसानले उत्पादन गरेको दूध खेर जान्छ । दूध खरिद गर्दा बिक्री हुँदैन । यस्तो अवस्थामा बिक्री नभएको दूधलाई प्रशोधन गरेर पाउडर र मख्खन बनाएर राख्ने गरिएको छ । प्रशोधन गरेर तयार पारेको पाउडर र मख्खन बिक्री नहुँदा संस्थानसँग हाल करिब १ अर्बको दुग्ध पदार्थ गोदाममा थन्किएको छ ।
प्रतिक्रिया
No Comments