८ असार, काठमाडौं । गत मंगलबार नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीको नाम सार्वजनिक गर्दै जोखिमयुक्त भनेपछि त्यसको ‘परकम्पन’ सेयर बजारमा जारी छ । बोर्डको विज्ञप्तिपछि भएका चार कारोबारमध्ये तीन दिन उच्च अंकले सेयर बजारमा गिरावट देखियो । बोर्डको विज्ञप्ति सार्वजनिक भएको भोलिपल्ट सेयर कारोबार मापक नेप्से परिसूचक ५२ अंकले घट्यो ।

त्यसको भोलिपल्ट १ अंकलेमात्रै घटेको बजार आइतबार र सोमबार भने ठूलो अंकको पहिरो गयो । पछिल्ला चार कारोबारबाट नेप्से परिसूचक करिब २ सय अंकले घटेको छ ।

यससँगै सेयर बजारमा एक किसिमको ‘त्रास’ पैदा भएको छ । सेयर बजार निकै घट्ला कि भनेर कोही त्रासमा परेका छन् भने कोही नियामकीय कारबाहीमा परिएला कि भनेर तर्सिएको जानकारहरू बताउँछन् ।

धेरै कित्ता सेयर किन्न बस्दा धितोपत्र बोर्डले शंकाको दृष्टिले हेर्ने हो कि भन्ने चिन्ता देखिएको सेयर लगानीकर्ता पवित्रा ज्ञवाली बताउँछिन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘लौ मलाई त १ हजार कित्ता किन्न बस्न पनि डर लाग्छ है, तर मसँग त्यति पैसा नभएर होइन ।’ उनले कसैसँग १ लाख कित्ता किन्ने क्षमता छ भने उसले किन्न पाउनु पर्ने समेत बताएकी छिन् ।

उनी एक प्रतिनिधि पात्र हुन् । बोर्डले इन्साइडर ट्रेडिङ र सेयर कर्नरिङका विषयमा अध्ययन गर्दै गरेको बताएपछि धेरै लगानीकर्तामा त्रास छ । ‘ठूलो संख्यामा अर्डर बस्यो कि बोर्डबाट फोन आउन सक्ला भनेर डर हुन्छ,’ अर्की एक लगानीकर्ता भन्छिन्, ‘पछिल्लो गतिविधिले ट्रेडिङमा त्रास छ, केही दिन चुप लागेर बस्नु नै बेस होला ।’

सम्बन्धित समाचार

प्रतिक्रिया

No Comments