फूल मान्छेलाई किन मन पर्छ ? यो प्रश्न किनभने फूल मान्छेको आधारभूत आवश्यक्तभित्र पर्दैन । न यो खान मिल्छ, न लगाउन मिल्छ । फूल नहुँदैनमा मान्छेको जीवन नचल्ने पनि होइन ।

तर, मान्छे फूल देख्नसाथ किन उमंगित हुन्छन् ?

जबकि धर्तीका अधिकांश प्राणी आफ्नो भोजनमा बढी आकर्षित हुन्छन् । त्यसपछि उनीहरु आफ्नो अश्रयको खोजीमा लाग्छन् । तर, मान्छेलाई यतिले मात्र पुग्दैन । प्रकृतिका हरेक वस्तुबाट मान्छेले आफ्नो मनमा आनन्दको खोज गरिरहेका हुन्छन् । त्यसैले सुन्दर बस्तुप्रति उनीहरुको आकर्षण रहन्छ, जसले मनलाई क्षणभरकै लागि भएपनि शान्त र आनन्दित तुल्याउँछ ।

मान्छेको प्राकृतिक स्वभाव हो, सुन्दर चिजप्रति मोहित हुने । भलै सुन्दरता के हो भन्ने कुरामा सबैको एकमत नहुन सक्छ । किनकी कतिपय भन्ने गर्छन्, सुन्दरता वस्तुमा होइन हेर्ने दृष्टिमा हुन्छ ।

यद्यपि फूलको सन्दर्भमा यो तर्क त्यती चोटिलो लाग्दैन । किनभने मान्छे जस्तोसुकै होस्, उसको दृष्टि जस्तोसुकै होस् तर मान्छेलाई फूलले जहिले पनि सम्मोहित गरिरहेकै हुन्छ । त्यसैले ढकमक्क फक्रिएको फूल देख्नसाथ हरेकको मनमा उमंगको भाव पैदा हुन्छ, ‘आहा कति राम्रो !’

फूल र मान्छेको मनोविज्ञानमा आधारित एक अध्ययनमा के उल्लेख छ भने, फूलप्रति मान्छेको जुन स्वभाविक आकर्षण रहन्छ, त्यसले हरेक मान्छेभित्र सुन्दर चिजलाई परख गर्ने भाव प्रकट गर्छ । यसको अर्थ मान्छे प्राकृतिक रुपमा कुरुप, विभत्स कुरामा भन्दा पनि सुन्दर कुराहरुमा रमाउन खोज्छन् ।

स्वभाविक रुपमा मान्छे त्यही कुरामा बढी लगाव राख्छन्, जसले उनीहरुलाई आनन्दित महसुष गराउँछ । अतः यसको परिपूर्ति गरिदिएको छ, फूलले ।

त्यही कारण मान्छे सदियौंदेखि फूलसँग रमाउँदै आए । हरेक उत्सवमा फूलको साथ खोजे, दुःखमा फूलकै साथ रोजे । सुखदुःखमा अपरिहार्य बन्यो फूल ।

कुनै उत्सव, चाडपर्व आदिमा फूलको अत्याधिक खपत हुने गर्छ । कसैको आगमनमा वा कसैलाई शुभकामना टक्रयाउँदा पनि फूलको गुच्छा दिने गरिन्छ । यसैगरी कसैलाई बिदाई गर्नुपर्दा मात्र होइन मृत्यु संस्कारमा समेत फूल दिइने वा चढाउने गरिन्छ ।

यसरी फूल मान्छेको जीवनसँग अभिन्न रुपमा जोडिएको छ ।

यो त भयो मान्छेको मनोविज्ञानको कुरा । फूल मान्छेको जीवनशैली र जीविकासँग पनि उत्तिकै जोडिएको छ ।

जब तपाईं सुन्दर घरको कल्पना गर्नुहुन्छ, बगैंचा वा बार्दलीभरी ढकमक्क फूल देख्न चाहनुहुन्छ । त्यही चाहनाले त हो, हरेकजसोले घरमा फूल रोपेकै हुन्छन् । फुलाएकै हुन्छन् । रैथाने फूल रोप्ने, गोडमेल गर्ने मात्र होइन । देश–परदेशबाट आयत गरेर घरलाई ढकमक्क सजाउने प्रचलन पनि व्यापक हुँदैछ ।

फूल रोप्ने, सिंचाई गर्ने, गोडमेल गर्ने कुरामा मान्छेलाई उत्तिकै जाँगर पनि चल्छ । आफैले स्यहारसुसार गरेको फूलमा मान्छेको लगाव र आकर्षण पनि विछट्टै हुन्छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

No Comments