काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकमा नगर प्रहरीको भूमिकाले विवाद सिर्जना भएको छ। २२ नम्बर वडाका अध्यक्ष चिनकाजी महर्जनले शुक्रबार काठमाडौं प्लाजामा भएको ३२औं नगर कार्यपालिका बैठकमा नगर प्रहरीले वडाबाट ‘डकैती शैली’ मा फाइल उठाएको भन्दै प्रश्न उठाएका थिए।

महर्जनले जानकारी बेगर नै ६–७ बोरामा फाइलहरु उठाएर लगिएको र यो कार्यलाई कुन आधारमा गरिएको हो भनी सोधे। उनले सेवाग्राहीले आफ्नै फाइल लिन निवेदन दिनुपर्छ तर यो कार्य कसरी भयो भनेर प्रश्न गरे। यस कार्यलाई कसले आदेश दिएको हो भनी सोधे।

महर्जनले यो कार्य २२ नम्बर वडामा मात्र नभएर अन्य वडामा पनि भएको हो कि भनी प्रश्न उठाए। उनले अध्ययनका लागि फाइल उपलब्ध गराउन तयार रहेको बताए तर तरकारी जस्तै फाइल कोचेर लगिएको कुरा स्पष्ट पार्न माग गरे।

जवाफमा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले घर बहाल करसम्बन्धी फाइल हेर्न यसो गरिएको बताए। परियारले महानगरमा बुझाउने विवरण र आन्तरिक राजस्व कार्यालयमा बुझाउने विवरण फरक पाइएकाले आन्तरिक राजस्व विभागको सहकार्यमा कार्य गरिएको बताए। यो कार्य २२ नम्बर वडामा मात्र नभएर अन्य वडामा पनि सुरु गरिने जानकारी दिए।

महर्जनले प्रतिप्रश्न गर्दै यत्रो फाइल कसरी लैजान पाइन्छ भनी सोधे र महानगरले आफूलाई ‘सौतेनी छोरा’ को जस्तो व्यवहार गरेको बताउँदै असन्तोष प्रकट गरे।

सम्बन्धित समाचार

प्रतिक्रिया

No Comments