५ कात्तिक, काठमाडौं । एकीकृत समाजवादीले रोजगारी र सुशासनको एजेण्डा लिएर १५ दिन लामो जागरण अभियान चलायो ।
मेचीबाट सुरु भएको अभियान सुर्खेतमा समापन भएको अभियानका क्रममा समाजवादी पार्टीका नेताहरुले कोणसभा मात्र गरेनन्, आम सर्वसाधारणसँग सम्वाद पनि गरे ।
अभियानमा सक्रिय रुपमा सहभागी एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालका अनुसार आर्थिक संकट, राजनीतिक अस्थिरताका कारण समाजको नेतृत्वकारी समुदाय चिन्तित छ, निराश छ, अलमलमा छ । हरेक दलका नेता कार्यकर्तामा उकुसमुकुस छ । हिजो जुन शक्तिले गणतन्त्र ल्याएका थिए, उनीहरुले यो गणतन्त्र कसरी बचाउलान् भन्ने प्रश्न बढी छ ।
उनले भने, ‘त्यसैले अबको एजेण्डा गणतन्त्रको शुद्धीकरण हो ।’ यसका लागि प्रमुख दलहरुमा भएका दोस्रो पुस्ताहरु एकठाउँमा आउनुपर्ने महासचिव भुसालको जोड छ ।
प्रस्तुत छ, महासचिव घनश्याम भुसालसँग गरिएको कुराकानीको सम्पादित अंश :
एकीकृत समाजवादीको जागरण अभियान चलायो, के उद्देश्यले सुरु गरिएको थियो यो अभियान ?
गएको चुनावदेखि हाम्रो पार्टीबाट पलायन हुने/छाड्नेहरुको एउटै भनाइ थियो, एकीकृत समाजवादीसँग एजेण्डा छैन । खासगरी नेकपा एमालेले यसलाई अझ धेरै प्रचार गरिदिएको थियो । यसलाई हामीले तोड्न जरुरी थियो ।
दोस्रो, हाम्रा जस्ता मुलुकहरुको अस्थिरता वा संकट मुलभूत रुपले बेरोजगारी र कुशासनले आउँछन् भनेर गएको १५ वर्ष, अझ त्योभन्दा अगाडिदेखि भन्दै आएका हौं । एमालेको नवौं महाधिवेशनमा त हाम्रो मुलभूत एजेण्डा नै थियो । त्यहीकारण हामीले अब वाम राजनीतिको बाटो समृद्ध नेपाल, सुखी नेपाली हो भनेका थियौं । यसले मात्र गणतन्त्रको खुट्टा टेकाउन सकिन्थ्यो ।
गणतन्त्रलाई बलियो बनाउने भनेको गण तथा जनता बलियो बनाउने, तिनका प्रतिनिधि संस्थाहरु बलियो हुने हो, जहाँ जनताका प्रतिनिधि संस्थाहरुले आमरुपमा जनतासँग हिजोको जस्तो ठालु वा हाकिमको जस्तो सम्बन्ध होइन, गणतान्त्रिक सम्बन्ध हुन्छ । गणतान्त्रिक सम्बन्ध भनेको कोहीभन्दा कोही ठूलो छैन किनभने कोहीभन्दा कोही सानो छैन भन्ने सिद्धान्त गणतन्त्रको सिद्धान्त हो यो । यसरी जाँदा मात्र हाम्रो राजनीतिलाई वेरोजगारी उन्मुलन र सुशासनमा टेकाउन सकिन्थ्यो । यो काम पार्टी र राज्य शक्तिमा ओलीजीको उदयपछि टुट्यो । यसमै बढी विवाद थियो ।
गणतन्त्रले आमरुपमा हिजोको तुलनामा आजको जीवनलाई गुणस्तरीय बनाउनुपर्छ, नयाँ जिन्दगी दिनुपर्छ । राजतन्त्रमा पनि त्यही जिन्दगी, प्रजातन्त्रमा पनि त्यही जिन्दगी, गणतन्त्रमा पनि त्यही जिन्दगी ? यो तरिकाले हुँदैन
०७५ सालको बजेटमा नै यो रोजगारी श्रृजना गर्नेतिर राष्ट्रिय पुँजी विकास गर्नेतिर जाँदैछ कि अहिलेकै यथास्थितिलाई कायम राख्दै भ्युटावर, पानी जहाज, चुच्चे रेलको उडन्त हवा गफतिर जाँदैछ भन्ने प्रश्न उठेको थियो । त्यो विवाद संसद विघटन र पार्टी विभाजनमा गएर टुंगियो । नेकपा समाजवादी बनिसकेपछि पनि त्यो टुटेको कडी हामीले जोड्न सकेका थिएनौं ।
तेस्रो, मुलुकको एजेण्डा प्रष्ट नभएपछि पपुलिस्ट, साम्प्रदायिक, अराजक तथा पुनरोत्थानवादीहरु जाग्छन्, संसारभर यस्तै भएको छ । हामीकहाँ पनि अहिले गणतन्त्र, गणतान्त्रिक नभएकाले संकटहरु आइरहेका छन् । र, आजको आर्थिक संकट, राजजीतिक अस्थिरतादेखि सामाजिक अस्थिरताको सम्भावना सबैले हामीलाई अब यसलाई एजेण्डामा लैजानुपर्छ भन्ने ठाउँमा पुर्यायो । र, वेरोजगारी उन्मुलन र सुशासन स्थापनालाई एजेण्डा बनाएर अभियानमा गयौं ।
कोणसभा बाहेक आम नागरिकसँग छलफल पनि गर्नुभयो होला, के पाउनुभयो उहाँहरुमा ?
सामान्यता हामी बिहान ११ बजेतिर यात्रा सुरु गर्थ्यौं र साँझ ५/७ बजे छोड्थ्यौं । बस्ने ठाउँमा पुगिसकेपछि र भोलिपल्ट यात्रा सुरु गर्नुअघि सम्भव भएसम्म त्यहाँ बुद्धिजिवी, विद्यार्थी, महिला, कृषकहरुसँग भेटघाट छलफल गर्यौं । उद्योगी व्यवसायीहरु हामीसँग छलफल गर्न आफैं जागरुक थिए ।
यस्ता छलफलहरुमा उद्योगी व्यवसायीहरुमा अलि बढी छटपटी देखियो र, राजनीतिक रुपमा हामीभन्दा एकदमै फरक रहेकाहरुले पनि हामीलाई चासोका साथ सुने । खुलेर आलोचना पनि गरे । सरकारमा भएकाले पनि होला, केही गर्छन् कि भन्ने विश्वास पनि होला, अझ एजेण्डाका कारण पनि होला । किनकी हाम्रो यात्रालाई वेरोजगारी अन्त्य गर्न कृषिलाई खुट्टा टेकाउने हो, उद्यमलाई संरक्षण गर्ने हो भन्ने मुद्दाले उहाँहरुलाई बढी छोएको पाएँ ।
अभियानले पार्टी कार्यकर्तामा रहेको अस्पष्टता कति सम्बोधन गर्न सक्यो जस्तो लाग्छ ?
पार्टीका कार्यकर्ता, स्थानीय नेताहरु, केन्द्रीय नेतृत्व तहमा पनि यसले जुन आशा, विश्वास सृजना गरेको छ, त्यो तहको विश्वास यो अभियानले मात्र सृजना गर्दैन कि भन्ने लागेको थियो । व्यक्तिगत रुपमा भन्दा मैले सोचेभन्दा राम्रो आशा विश्वास पार्टी कार्यकर्तामा पलाएको छ । यो पार्टी भित्रको आन्तरिक मामिलाका हिसाबले भन्ने हो भने हामीले धेरै राम्रो गर्यौं ।
तर यो मुद्दालाई राष्ट्रिय राजनीतिमा स्थापित गर्ने र त्यसका वरिपरि आजको राजनीतिलाई डोहोर्याउन सकेनौं भने त्यो आशा विश्वास धेरै लामो रहन सक्दैन । त्यसैले राष्ट्रिय राजनीतिको मुल मुद्दा बनाएर अगाडि जानुपर्छ भन्ने समीक्षा गरेका छौं र आगामी दिनमा हामी यसमा केन्द्रित हुन्छौं ।
तर कार्यकर्तामा भन्दा ठूलो असन्तुष्टि र आक्रोश त आम जनतामा छ, जुन आम निर्वाचनमा पनि धेरथोर देखिएको थियो । अभियानका क्रममा चाहिँ कस्तो पाउनुभयो ?
अस्थिरताका शक्तिहरु खासगरी धार्मिक, जातीय र क्षेत्रीय मुद्दाहरुमा जनतालाई फाटो पार्नेहरुबारे आमरुपमा जनता सचेत देखिन्छन् । समाजको मूल शक्तिप्रवाह त्यसको पक्षमा छैन । तर अहिलेको आर्थिक संकट, राजनीतिक अस्थिरता सबैले त्यो समाजको नेतृत्वकारी समुदाय अलि चिन्तित छ । केही जानेको, केही बुझेको, स्थानीय भए पनि अलि टाढासम्म हेर्ने, राष्ट्रिय तहमा सोच्ने वर्ग अलि निराश छ, अलमलमा छ । कांग्रेस, एमाले, माओवादी, हाम्रै जुनसुकै दलको साथीहरुमा एक खालको उकुसमुकुस छ । गणतन्त्रका शक्तिहरुले यो गणतन्त्र कसरी बचाउलान् भन्ने बढी प्रश्नहरु छन् ।
किनकी हाम्रो सम्पूर्ण राजनीति पपुलिष्ट र व्यक्ति केन्द्रित भयो । पुराना राजनीतिक दलका नेताहरुले ‘अझै धेरै भोट देऊ, मैले गर्छु’ भन्दै आएको हो । नयाँले सिकेको पनि यही हो । यसरी गर्छु भनेर आएको त होइन । पुरानाले सकेनन्, मैले गर्छु भनेको मात्र हो । यसले समाजमा भयंकर ठूलो प्रभाव पारेको छ ।
यो यात्रामा हामीले रोजगारी केन्द्रित भएर कसरी गर्न सकिन्छ भनेर गरेको तर्कलाई पत्याएका छन्, विश्वास गरेका छन् । कृषि र कृषकको संरक्षण, हरेक बालीको न्यूनतम समर्थन मूल्य तोक्ने, योभन्दा बढीमा कृषकले बजारमा बेच्न पाउने, बेच्न सक्दैन भने राज्यले किनिदिने ग्यारेन्टी गर्ने । सम्पूर्ण कृषि व्यवस्थालाई पाँचदेखि सात वर्षमा यो नयाँ प्रारुपमा लैजान सकिन्छ । यसले कृषिमा आधारित उद्योगहरुको वातावरण बनाउँछ ।
हिजो हामीले एकचोटी प्रजातन्त्रको झण्डा बोक्यौं, अर्को चोटी गणतन्त्रको झण्डा बोक्यौं । अब मुलुकले गणतन्त्रको शुद्धीकरणको झण्डा बोक्छ
औद्योगिकरण भएका मुलुकहरुले केही न केही आफ्ना सामर्थ्यलाई प्रयोग गरेका छन् । हाम्रो सामर्थ्य जलस्रोत हो । जल ऊर्जालाई यसरी सस्तो बनाउनुपर्छ, जसको अधिकतम उपयोगबाट आफ्ना उत्पादनलाई अरु मुलुकको उत्पादनसँग प्रतिस्पर्धी बनाउन सकुन्, त्यो तहसम्म हामीले उद्योगहरुलाई समेत संरक्षण गर्नुपर्छ । यसरी जाँदा खानी, कृषि, वन, पानी लगायत हाम्रा प्रारम्भिक उद्योग हुन् । रकेट, स्याटेलाइट लगायतका उद्योगको कुरा गर्यौं भने हामीलाई एजेण्डाबाट पर लैजान्छ ।
यसका लागि सुशासन चाहिन्छ । हरेक दल यस्तो बन्नुपर्छ कि जसभित्र भ्रष्ट नजन्मिउन् । संरचनागत र नीतिगत रुपमा पार्टी त्यसरी तयार हुनुपर्छ भन्ने तर्क आम रुपमा मानिसहरुले मन पराएका छन् । तर ‘यही पार्टीले गर्छ ?’ भनेर सोधेका छन् । ‘यिनै नेता हुन्, हिजो पनि भन्दै थिए’ भनेर शंका गरिरहेका छन् । अर्कोतर्फ एकीकृत समाजवादी सानो छ । यसले गर्दा हुन्छ त भन्ने प्रश्न उत्तिकै छ । बोलेर वा नबोलेर, कसैले ठूलै स्वरमा बोलेर पनि यही कुरा बताएका छन् ।
पार्टी कार्यकर्ता तहमा चाहिँ गणतन्त्रका शक्तिहरुले यो गणतन्त्र कसरी बचाउँछन् ? फेरि एउटा मुद्दामा एकैतिर आउँछौं त भन्ने उकुसमुकुस छ, सबैतिर प्रश्न छ ।
गणतन्त्रमथि प्रश्न उठ्नुमा त अहिले भएका प्रमुख पार्टी र त्यसको नेतृत्वमा बसेकाहरुको गतिविधि नै जिम्मेवार छ नि, होइन ?
मुख्यत पुराना पार्टीहरु, जसले हिजो पञ्चायत फालेपछि गणतन्त्र ल्याए, ती पार्टीहरु गणतन्त्र आएपछि जसरी हिँड्नुपर्ने थियो, त्यसरी हिँडेनन् । त्यसपछि मात्रै यो सम्पूर्ण प्रतिक्रिया उत्पन्न भएको हो । गणतन्त्रमा अनेक विकृतीहरु आए । खासगरी हिजो राजाले खाएका थिए, अब शक्तिमा पुग्ने अरुले खाने हो भन्नेजस्तो भयो ।
फेरि इतिहास हेर्ने हो भने सधैं यस्तो भएको छ । पहिले-पहिले ठूला-ठूला दास विद्रोह हुन्थे । दासहरुले जितिहालेमा मालिकहरुका हवेलीमा जाने, बस्ने, तिनका खाटमा सुत्ने गर्थे । संसारका किसान विद्रोहहरुमा पनि त्यस्तो देखियो । किसानहरुले विद्रोह गर्थे, पछि तिनै नेता गएर जमिन्दारका घोडामा हिँड्ने, तिनका हात्तीमा चढ्ने काम गर्न थाले । यो धेरै पहिलेदेखि राजनीतिमा चलिआएको प्रवृत्ति हो । हाम्रो पनि राणाहरुले भागै लगाएर खाएका थिए । राजाहरुले पनि एकखालको भागै लगाएका थिए । स्रोत सानो थियो, तर जति थियो, चुसेरै खाएका थिए । त्यो प्रवृति गणतन्त्रमा पनि सरेको छ ।
यसअर्थमा हिजोका पुराना प्रवृत्तिहरुले गणतन्त्र अशुद्ध भएको छ, गणतन्त्रमा विकृतीहरु आएका छन् । गणतन्त्रको शुद्धीकरण अबको राजनीतिको मुख्य केन्द्र बनाउनुपर्छ । यो भनेको के हो भन्नुहुन्छ, यो भनेको हरेक युगमा एउटा कार्यभार हुन्छ । आज गणतन्त्रलाई अझ फैलाउने, मजदुर, किसान, सिमान्त श्रमजिवी, यहाँ पढ्न नपाएर विदेश हिँडिरहेकाहरुलाई बाटो दिने हो । यो गणतन्त्र उनीहरुको जीवनमा आउनुपर्छ । महिला, जनजाति, दलितको जीवनमा गणतन्त्र आउनुपर्छ । बोल्ने स्वतन्त्रता पायौं भनेर मात्र पग्दैन, रोजगारी, बस्ने-खाने अवस्था अर्थात जीवन गुणस्तरीय बनाउनुपर्छ । गणतन्त्रले आमरुपमा हिजोको तुलनामा आजको जीवनलाई गुणस्तरीय बनाउनुपर्छ, नयाँ जिन्दगी दिनुपर्छ । राजतन्त्रमा पनि त्यही जिन्दगी, प्रजातन्त्रमा पनि त्यही जिन्दगी, गणतन्त्रमा पनि त्यही जिन्दगी ? यो तरिकाले हुँदैन ।
प्रतिक्रिया
No Comments