जलवायु परिवर्तनसँग सम्बन्धित मुद्दाहरूमा विपन्न र आदिवासी समुदायहरू सबैभन्दा बढी मर्कामा परिरहेको तथ्य सार्वजनिक भइरहेका हुन्छन् । तर त्यसको प्रभाव न्यूनीकरणमा उनीहरूको भूमिकालाई लिएर प्रायः बेवास्ता गरिने भन्दै आलोचना पनि उत्तिकै हुन्छ ।

अनुसन्धानकर्ताहरूले जलवायु परिवर्तनसँग सम्बन्धित मुद्दाहरूलाई आदिवासी समुदायसँग जोडेर हेर्नुपर्ने र उनीहरूको पुस्तैनी ज्ञानबाट सम्बन्धित समस्याको हल खोज्न सकिने बताइरहेका छन् । जलवायु परिवर्तन र यसका प्रभावहरूलाई न्यूनीकरण गर्न उनीहरूको योगदान विशेष हुनसक्नेमा अनुसन्धानकर्ताहरू आशावादी छन् ।

अमेरिकाको मिसिगन विश्वविद्यालयका प्राध्यापक डा. केली हृवाइट उल्लिखित मुद्दालाई मुखर ढंगले उठाइरहेका अनुसन्धाता हुन् । पर्यावरणीय न्यायका विशेषज्ञ उनी विश्वविद्यालयको सामाजिक न्याय र वातावरणका लागि टिशमान केन्द्रका संस्थापक निर्देशक समेत हुन् ।

झण्डै एक दशकदेखि आदिवासी र जलवायु परिवर्तनका मुद्दामा अनुसन्धान गरिरहेका प्राध्यापक हृवाइट वातावरणीय न्यायको पक्षमा वकालत गर्दै आएका छन् । ऊर्जा क्षेत्रमा विपन्न र आदिवासी समुदायहरूले सामना गर्नु परेका असमानताका विषयमा अनुसन्धानरत हृवाइट नेपाल भ्रमणमा रहेको बेला हालै अनलाइनखबरले गरेको कुराकानी : 

नेपाल भ्रमणमा हुनुहुन्छ । यसक्रममा जलवायु परिवर्तन र आदिवासी समुदायमा यसले पारेको प्रभाव कस्तो पाउनुभयो ?

यहाँ मैले धेरै महत्वपूर्ण अन्तर सांस्कृतिक विषयमा छलफल र विचार आदानप्रदान गर्ने अवसर पाएँ । यसर्थ मेरा लागि यो एक हप्ता धेरै महत्वपूर्ण रहृयो ।

अमेरिकामा सयौं आदिवासी जनजाति, विभिन्न संस्कृति र समुदायहरू छन् । हामीले वातावरणीय र जलवायु सम्बन्धी मुद्दाहरूमा अनुसन्धान गर्दा उनीहरूको सहयोग लिएका छौं । यहाँ पनि धेरै नै आदिवासी तथा जनजाति समुदाय छन् । मलाई उनीहरूबाट सिक्ने र आफूले अमेरिकामा गरिरहेका कामबाट प्राप्त सफलताका कथाहरू सुनाउन पाउँदा आनन्दानुभूति भएको छ ।

अमेरिकाका आदिवासीहरू आफ्नो परम्परागत अभ्यासहरू पुनर्स्थापित गर्दा के हुन्छ भनेर प्रश्न गरिरहन्छन् । राज्यले गैरकानुनी बनाएका आदिवासी समुदायका पुराना मूल्य, मान्यता र अभ्यासहरू पुनस्र्थापित गर्ने विषयमा उनीहरूको चासो हुन्छ । नेपालमा पनि आदिवासी समुदायले श्याग्या परम्परा संरक्षण ऐन होस् वा अन्य मुद्दामाथि प्रश्न गर्दै आएका छन् । आफ्ना परम्परागत अभ्यासहरूले जलवायु परिवर्तनलाई कम गर्न सक्छ भन्नेमा उनीहरूले चासो व्यक्त गरिरहेका छन् । विशेषगरी वनको संरक्षण गर्ने सन्दर्भमा उनीहरू बढी चिन्तित देखिन्छन् ।

त्यसैले नेपाल र अमेरिकामा यहाँका आदिवासीका परम्परागत अभ्यासहरूले कसरी समाधान दिनसक्छ भन्ने विषयमा भएको छलफलले उत्साहित बनाएको छ । तर हामीले उनीहरू कत्तिको जोखिममा छन् भनेर बुझ्नको लागि अनुसन्धान गर्न आवश्यक छ । त्यसपछि उनीहरूलाई अझ राम्रोसँग बसोबासको व्यवस्थापन गर्नुपर्छ र उत्पन्न भइरहेका खतराबाट जोगाउन आवश्यक छ ।

जलवायु परिवर्तनका असरहरूबाट आदिवासी जनजातिहरू कत्तिको जोखिममा छन् र उनीहरूले यसको सामना कसरी गरिरहेका छन् ?

अमेरिकासँग सम्बन्धित मेरो आफ्नै अनुसन्धानमा जलवायु परिवर्तनको असर सबैभन्दा बढी आदिवासी समुदायमा परेको देखिन्छ । बदलिंदो मौसम, बढ्दो तापक्रम लगायत विभिन्न समस्याले आदिवासी समुदायहरू सबभन्दा बढी गम्भीर खालका जोखिमको सामना गरिरहेका छन् । यस्ता विपत्तिहरू प्रायः मानवीय कारणले सिर्जना भइरहेका छन् ।

अमेरिकामा जलवायु परिवर्तनजन्य वातावरणीय प्रकोपका कारण स्थायी रूपमा पुनर्वास गर्नुपर्ने पहिलो समुदाय आदिवासी नै हुन् । कतिपयले अहिले आफ्नो बसोबास क्षेत्रसँगै आफ्नो संस्कृति र भाषाहरू समेत गुमाउँदै गएका छन् ।

गैर-आदिवासी समुदायहरू पनि भविष्यको विषयमा चिन्तित छन् । तर उनीहरूले यी चीजहरू अनुभव गरे पनि आफैंले भोग्नु परेको भने छैन । नेपालको सन्दर्भमा पनि यहाँका आदिवासी समुदायका मानिसहरूले जलवायु परिवर्तनबाट हुने उच्च जोखिम र क्षतिको सामना गरिरहेका छन् ।

मेरो अनुसन्धानले जलवायु परिवर्तनको प्रभाव आदिवासीहरूमा बढी पर्नुको कारण उनीहरू गलत ठाउँमा बस्नु होइन भन्ने देखाउँछ । बरु जमिनको क्षेत्रफल संकुचित भएको कारण यी समुदायहरू त्यस्ता स्थानमा बसोबास गर्नु परेको हो । आर्थिक अभावसँगै जलवायु परिवर्तन र वातावरणीय समस्याहरूको सामना गर्न स्रोतको अभाव भएका कारण पनि उनीहरू त्यस्ता ठाउँमा बसोबास गर्न बाध्य छन् ।

सरोकारवाला पक्षले समुदायको अधिकारलाई यथोचित सम्मान गरेको पाइँदैन । यसले जलवायु परिवर्तनका गम्भीर असरहरू आदिवासी समुदायमा बढी परेको देखिन्छ । नेपालमा उनीहरू पहिलेदेखि नै प्रविधि, सूचना र स्रोतको पहुँचभन्दा बाहिर छन् । यसले पनि थप असर गरेको हुनसक्छ ।

आदिवासी जनजातिका समस्यालाई अगाडि ल्याउन कसरी प्रोत्साहित गर्न सकिन्छ ?

आदिवासी तथा जनजाति समुदाय र जलवायु परिवर्तन सम्बन्धी प्रकाशित सामग्रीहरू हेर्ने हो भने कतै पनि उनीहरूको अनुभवलाई समेटिएको भेटिंदैन । त्यसको ट्रेन्डलाई हेर्दा जलवायु परिवर्तनका विषयमा विशेष भूगोल र राज्यको विषय उठाइएको हुन्छ, तर आदिवासी समुदायलाई समेटिएको हुँदैन ।

विशिष्ट स्थानसँग जोडिएका जलवायु सम्बन्धी पर्याप्त तथ्याङ्क हुन आवश्यक छ । जसले फरक ट्रेन्डलाई देखाउन सकिन्छ । त्यो समुदायका मानिसहरूका लागि स्थानीय सन्दर्भमा जलवायु परिवर्तनको अर्थ के हो भन्ने कुरा बुझ्ने एक मात्र महत्वपूर्ण तरिका पनि यही हो ।

मेरो आफ्नै पोटावाटोमी समुदायका आदिवासीहरूको आफ्नै ऐतिहासिक शैक्षिक र अनुसन्धान संस्थानहरू छन् । हामीले त्यहाँ अनुसन्धानबाट ज्ञान उत्पादन गर्‍यौं र त्यसलाई भावी पुस्ताहरूमा हस्तान्तरण गर्‍यौं । उक्त ज्ञानलाई हामीले सम्पूर्ण उत्तर अमेरिकाका अन्य आदिवासी समुदायहरूसँग आदानप्रदान मात्रै होइन, आर्थिक उपार्जनका लागि पनि उपयोग गर्‍यौं ।

अमेरिकाको राष्ट्रिय जलवायु मूल्याङ्कनले आदिवासी जनजातिहरूमा केन्द्रित अध्ययन गरेको छ । त्यसका अधिकांश लेखक आदिवासी हुन् । उनीहरू प्राज्ञिक शिक्षा लिएका भन्दा पनि बढी आफ्नै स्थानीय ज्ञान भएका व्यक्तिहरू हुन् । यसले उनीहरूको वास्तविक समस्या उठाउन निकै महत्वपूर्ण भूमिका खेलेको छ । त्यसका लागि हामीले स्थानीय आदिवासी समुदायसँग विभिन्न कार्यशालाहरू समेत गरिरहन्छौं ।

त्यसकारण हामीलाई के विषयमा अनुसन्धान गर्ने, स्थानीय परिवेश अनुसार कस्ता अनुसन्धान विधिहरू अपनाउने र त्यसको भाषिक अनुवाद कसरी गर्ने भन्ने उचित जानकारीका लागि पनि आदिवासी समुदायको ज्ञानको आवश्यकता पर्दछ ।

विभिन्न कारणले धेरै वैज्ञानिक/अनुसन्धानकर्ताहरू आदिवासी समुदायसँग अपरिचित छन् । उनीहरू ती समुदायका कुनै पनि पुस्ता सँगसँगै बसेका छैनन् । यदि सर्वोपरि हितमा हुने गरी जलवायु परिवर्तन सम्बन्धी अनुसन्धान गर्ने हो भने हामीले आदिवासी समुदायसँग आइडिया लिएर काम गर्न जरूरी छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

No Comments