आजभोलि पार्किन्सनको समस्याबाट पीडित हुने संख्या बढ्दो छ । यो न्युरो डिजेनेरेटेज डिसअर्डर अर्थात् मस्तिष्कको नसा खुइलिंदै जाने रोग हो । स्नायु प्रणालीसँग सम्बन्धित यो रोग नसर्ने रोगमा पर्छ ।

मस्तिष्कमा सब्स्टेनसिया निग्रा भन्ने कोषिका हुन्छ, जसमा डोपामिन नामक न्युरो हार्मोन उत्पादन हुन्छ । यसले पार्किन्सन हुन दिंदैन । मस्तिष्कमा डोपामिन हार्मोनको कमी भएमा पार्किन्सन रोग लाग्ने जोखिम बढी हुन्छ ।

डोपामिन हार्मोनले के गर्छ ?

डोपामाइन सन्देश आदानप्रदान गर्ने एक रसायन हो, जसले मस्तिष्कका दुई क्षेत्रबीच गतिविधि समन्वय गर्न संकेतहरू पठाउने काम गर्छ । मस्तिष्कका यी भागमा डोपामाइनको कमी छ भने मानिसले आफ्नो चाललाई निर्देशित गर्न वा नियन्त्रण गर्न असमर्थ हुन्छ । यो पार्किन्सन भएको पहिलो लक्षण हो ।

पार्किन्सनका लक्षण दुई प्रकारका हुन्छन् मोटर र ननमोटर ।

मोटर लक्षण बाहिरी रुपमा देखिन्छ । हातखुट्टा चलाउनेसम्बन्धी समस्या देखिन्छ । जसलाई ट्याप टीआरएपी पनि भनिन्छ । शरीरको एकातिरको हात हल्लिरहने वा काम्ने, हातखुट्टा कडा हुँदै गएर चलाउन वा हिंडडुल गर्न गाह्रो हुने, काम गर्ने गति कम हुँदै जाने, हिंड्दा कमजोर भएर लड्ने जस्ता समस्या देखिन्छन् ।

ननमोटर लक्षणमा मानसिक लक्षणहरु जस्तै रिसाउने, झर्किने, निद्रा नलाग्ने वा गडबडी हुने, सुँघ्ने क्षमता कमजोर हुँदै, जे पायो त्यही बोल्ने, ह्यालुसिनेसन हुने जस्तै हुँदै नभएको चीज देखिने, एक्लै बर्बराउने, निद्रासम्बन्धी समस्या (जस्तै, सुत्दा खुट्टा हल्लाइरहने, निद्रामा हिंड्ने, र दिनको समयमा निद्रा लाग्ने लक्षण देखिन्छ । डिमेन्सिया (बिर्सने रोग)को समस्यासमेत हुन सक्छ ।

कसलाई लाग्न सक्छ ?

पार्किन्सन रोग खासगरी वृद्धवृद्धालाई हुने गर्छ । पार्किन्सन हुनुको खास कारणबारे चिकित्सा विज्ञानले हालसम्म पत्ता लगाउन सकेको छैन । तर विभिन्न अनुसन्धानअनुसार पार्किन्सन वंशानुगत कारणले धेरै हुन्छ । परिवारको सदस्य वा कुनै नजिकको आफन्तलाई पार्किन्सनको समस्या छ भने पनि यो रोग लाग्ने सम्भावना धेरै हुन्छ ।

इनार वा भूमिगत पानी उपभोग गर्नेहरुमा पार्किन्सनको जोखिम धेरै हुन्छ । कीटनाशक औषधिको सम्पर्कका बढी आउने मान्छेलाई पनि यसको जोखिम बढी हुन सक्छ भने महिलालाई भन्दा पुरुषलाई पार्किन्सनको समस्या बढी देखिन्छ ।

उमेर बढ्दै गएपछि शरीरका कोषिकाहरु कमजोर हुँदै जाने भएकाले वृद्ध उमेरका व्यक्तिमा पार्किन्सन हुने सम्भावना उच्च हुन्छ ।

के छ उपचार ?

पार्किन्सन रोग पूर्ण रुपमा निको हुँदैन नियन्त्रण मात्रै गर्न सकिन्छ । हात काँपिरहने, मांसपेशी कडा हुने समस्या नियन्त्रण गर्ने औषधि प्रयोग गरिन्छ । तर हिंड्दा हुत्तिने, लड्ने समस्याको भने उपचार छैन । यसैगरी मानसिक समस्याका लागि मनोचिकित्सकलाई जाँच गराएर औषधि लिन सकिन्छ ।

पार्किन्सन रोगको उपचार लेभोडोपा नामक औषधिका साथै ‘डिप ब्रेन स्टिमुलेसन’ अर्थात् डीबीएस प्रविधिबाट गरिन्छ । जसमा शल्यक्रियामार्फत मस्तिष्कमा पेसमेकर राखिन्छ । ‘डिप ब्रेन स्टिमुलेसन’ अर्थात् डीबीएस पनि गर्न प्रविधिले मस्तिष्कमा विद्युतीय तार जडान गरेर विद्युतीय तरंगको माध्यमद्वारा कृत्रिम किसिमले स्नायुकोषको गतिविधिलाई सामान्य अवस्थामा ल्याउने मद्दत गर्छ । यसले लक्षण कम गर्न सक्छ तर पूर्ण उपचार होइन । औषधिले काम गरेको छैन भने यो राख्न सकिन्छ ।

पार्किन्सन हुनै नदिन केही गर्न सकिएला ?

पार्किन्सन रोग हुनै नदिन केही निश्चित समाधान त अहिलेसम्म पत्ता लागेको छैन । तर विभिन्न अनुसन्धानअनुसार कफी, चिया, कफी, फलफूल, ड्राइफुड र एन्टिअक्सिडेन्टयुक्त खानेकुराको नियमित उपभोग गर्ने व्यक्तिलाई कम भएको देखिन्छ । त्यसैले पार्किन्सन लाग्ने नदिन भन्दा पनि यी चीज सेवन गरेको खण्डमा यसबाट जोगाउन सक्ने सम्भावना देखिन्छ ।

(वरिष्ठ न्युरोलोजिस्ट डाखरेलसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

सम्बन्धित समाचार

प्रतिक्रिया

No Comments