ललितपुर महानगरपालिका वडा नं. १, कोपुण्डोलमा अवस्थित स्वास्थ्य केन्द्रलाई वागमती प्रदेश जनस्वास्थ्य कार्यालय, ललितपुरबाट उत्कृष्ट स्वास्थ्य कार्यालयको रूपमा पुरस्कार प्रदान गरिएकाे छ ।
आर्थिक वर्ष २०८१/०८२ मा गरिएको न्यूनतम सेवा मापदण्ड (Minimum Service Standards – MSS) मूल्याङ्कनको आधारमा कोपुण्डोल आधारभूत स्वास्थ्य सेवा केन्द्र-१ ले ललितपुर महानगरपालिकाभित्रका सम्पूर्ण स्वास्थ्य संस्थाहरूमध्ये सर्वोत्कृष्ट (प्रथम स्थान) स्वास्थ्य संस्था हुन सफल भएकाे छ ।
स्वास्थ्य सेवा प्रवाहको गुणस्तर, पहुँच, प्रभावकारिता र उत्तरदायित्व जस्ता सूचकहरूमा उत्कृष्ट प्रदर्शन गर्दै प्रशंसा-पत्र प्राप्त गर्न सफल भएको हो । वडा नं.-१ का अध्यक्ष निर्मल तण्डुकारले भने, “यस उपलब्धिमा प्रत्यक्ष वा अप्रत्यक्ष योगदान गर्ने सम्पूर्ण वडावासी, स्वास्थ्यकर्मी, कर्मचारी, महिला स्वास्थ्य स्वयम् सेविका, सल्लाहकारहरु प्रति हार्दिक आभार प्रकट गर्दछौँ । आगामी दिनहरूमा अझ प्रभावकारी सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।”
यसैबीच, स्वास्थ्य संयोजक कृष्ण महर्जनले आफ्नाे धारणा राख्ने क्रममा भने, “यो सम्मान हामी सबैको साझा प्रयासको परिणाम हो । आगामी दिनहरूमा अझ मजबुत संस्था निर्माण गर्न यस्तै सहकार्यको अपेक्षा गरेका छौँ ।”
ललितपुर महानगरपालिका वडा नं.-१ मा गत वर्ष वागमती नदीमा आएको बाढीका कारण केही क्षति पुगे तापनि, स्वास्थ्य केन्द्रले निरन्तर मातृशिशु स्वास्थ्य, रोग नियन्त्रण, खोप, पोषण, मानसिक स्वास्थ्य, विशेषज्ञ चिकित्सक सेवा, घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम, डिजिटल स्वास्थ्य प्रोफाइल तथा शुलभ दररेटमा ल्याब सेवालगायतका कार्यक्रमहरूमा सक्रियता देखाउँदै आएको छ ।
प्रतिक्रिया
No Comments