सरकारी निवासको स्वागत कक्षमा रेसमी साडीमा ठाँटिएर ठिंग उभिएकी छिन्, शेख हसिना। उनको उपस्थिति मखमली पञ्जाभित्रको फलामे मुठ्ठीको प्रतीक झैं छ। बुढ्यौलीमा पनि उनले जोसिलो शैलीमा राष्ट्रको नेतृत्व गरिरहेकी छन्। एक दशकको अवधिमा ७६ वर्षीय हसिनाको नेतृत्वमा बंगलादेशले निकै फड्को मारेको छ। जुटको उत्पादनकर्ताबाट एशिया प्रशान्त क्षेत्रको तीव्र आर्थिक वृद्धि हासिल गरिरहेको सूचीमा बंगलादेश आइपुगेको छ।
उनको पहिलो कार्यकाल १९९६ देखि २००१ सम्मको थियो। सन् २००९ देखि हालसम्म निरन्तर सत्तामै रहेकी उनी विश्वकै धेरै शासन गर्ने महिला प्रधानमन्त्री हुन्। बंगलादेशमा पुनरुत्थानवादी इस्लामी तथा राज्य सत्तामा हस्तक्षेप गर्ने सेना दुवैलाई पराजित गरेको श्रेय उनैलाई छ। मार्गरेट थ्याचर र इन्दिरा गान्धीपछि सबैभन्दा धेरै चुनाव जित्ने सूचीमा पनि हसिना छिन्।
आगामी जनवरीमा हुन गइरहेको निर्वाचनमा पनि आफूले नै बाजी मार्नेमा हसिना आत्मविश्वासी देखिन्छिन्। ‘मेरो शक्ति नै मेरा जनता हुन्। जनता मेरै साथमा रहेको कुरामा म ढुक्क छु’, उनले भनिन्।
उनको यो आत्मविश्वासले विगतदेखि हालसम्म १९औं पटक गरिएको हत्या प्रयासको पनि बलियो खण्डन गरेको छ। हालसालै प्रमुख प्रतिपक्षी दल बंगलादेश राष्ट्रिय पार्टीका समर्थकहरुले आन्दोलन मच्चाए। प्रहरी प्रशासनसँग झडप भयो। दर्जनौं सवारी साधनमा आगो झोसियो। झडपमा कैयौं मानिस मारिए, धेरै गिरफ्तारमा परे। प्रतिपक्षी दलले आसन्न निर्वाचन बहिष्कार गर्ने भन्दै आन्दोलन गरेको हो। त्यस दलले सन् २०१४ र २०१८ को निर्वाचनमा पनि यस्तै आन्दोलन गरेको थियो।
प्रतिक्रिया
No Comments